काठमाडौं । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । धवार र बिहीबार कुल एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । जसमा एक सय तीन जना नेपाल प्रहरी र ९१ जना सशस्त्र प्रहरी रहेका छन् ।
नेपाल प्रहरी केन्द्रीय मुख्यालय नक्सालमा र सशस्त्र प्रहरी आफ्नो मुख्यालय हलचोकमा हाजिर भएका छन् । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको छ ।