रविको एक्सन: निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न पुनः समिति गठन

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न नयाँ समिति बनेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको सञ्चारमाध्यमले जनाएका छन् । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो ।

कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो ।