काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन पहल शुरु गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाइएको छ । चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।
राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए। गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो। उक्त निर्णय गरेपछि गृह मन्त्री रवि लामिछाने राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए।