भूतपूर्व पोप बेनेडिक्टको निधन

Getty images\file

काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए।

बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका थिए। पोप बेनेडिक्टले आफ्ना जीवनका अन्तिम वर्षहरू भ्याटिकनको पर्खालभित्रै रहेको मातरे क्लेजिया मोनस्ट्रीमा बिताएका थिए। उनका उत्तराधिकारी पोप फ्रान्सिसले आफूले उनलाई त्यहाँ बारम्बार भेटेको बताएका छन्।

भ्याटिकनका प्रवक्ताले एउटा वक्तव्यमा भनेका छन्, ‘दुःखका साथ म तपाईँलाई सूचित गर्दछु कि पोप एमेरिटस बेनेडिक्ट सोह्रौँको बिहान ९:३४ मा भ्याटिकनको मातरे क्लेजिया मोनस्ट्रीमा निधन भयो।” ‘थप जानकारी सकेसम्म चाँडो प्रदान गरिनेछ।’ भ्याटिकनले उनको शवलाई ‘अनुयायीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि’ जनवरी २ देखि सेन्ट पिटर्स बसिलिकामा राखिने जनाएको छ। उनको अन्तिम संस्कारको योजनाबारे आगामी केही घण्टामा घोषणा गरिने भ्याटिकनले जनाएको छ।

इङ्गल्यान्ड र वेल्सको क्याथोलिक चर्चका प्रमुख कार्डिनल भिन्सेन्ट निकोल्सले पोप बेनेडिक्ट ‘२०औँ शताब्दीका महान् धर्मशास्त्रीमध्ये एक भएको बताएका छन्। एउटा वक्तव्यमा उनले भनेका छन्, ‘म सन् २०१० मा यो भूमिमा उहाँको उल्लेखनीय भ्रमणलाई विशेष स्नेहका साथ सम्झन्छु। हामीले उहाँको शिष्टाचार, उहाँको नम्रता, उहाँको अनुभूति र उहाँमा भेटेका सबैलाई स्वागत गर्ने खुलापन देखेका थियौँ।’ उनले ती भूतपूर्व पोप सज्जन, विद्वान् र ईश्वरको नजिक भएका नम्र सेवक भएको बताएका छन्।

केही समयदेखि बिरामी रहेका उनलाई भ्याटिकन अधिकारीहरूले बढ्दो उमेरका कारण उनमा स्वास्थ्य समस्या देखिएको बताएका थिए। बुधवार पोप फ्रान्सिसले भ्याटिकनमा उनी धेरै बिरामी भएकाले उनका लागि वर्षको अन्तिम प्रार्थना गर्न आह्वान गरेका थिए।

जर्मनीमा जन्मेका बेनेडिक्ट ७८ वर्षमा सन् २००५ मा पोपका रूपमा चयन भएका थिए र उनी त्यसरी चुनिने सबैभन्दा बढी उमेरका पोप थिए। उनी पोप भएका बेलामा क्याथोलिक चर्चले पादरीहरूले वर्षौँ बाल दुर्व्यवहार गर्ने गरेका आधिकारिक उजुरीहरूको सामना गरेको थियो। यसै वर्षको सुरुमा उनले म्युनिखमा आफू आर्चबिसप हुँदा त्यस्ता दुर्व्यवहारका घटना व्यवस्थापनमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।