सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ठोस परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको प्रस्तुती सुनेका प्रधानमन्त्रीले मंगलबार ३० बुँदे निर्देशन दिएका हुन् । उनले विकास खर्च कम हुनुको कारण खोज्न भनेका छन् । नीतिगत तहमा समस्या भए सुधारको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको अनुरोध छ ।

उनले भनेका छन्, ‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन ।’ प्रधानमन्त्री प्रचण्डले अगाडी भने, ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रमुख कार्यकारीको भूमिकामा तेश्रोपटक आएको र यसपटक कर्मचारीबाट पूर्ण सहयोगको अपेक्षा गरेको उल्लेख गरे । ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि तत्कालिन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरु र विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रित हुँदै उनले राज्यको स्थायी सरकारसँग प्रशस्त अनुभव रहेको बताए । यो सरकार त्यो अनुभव, योग्यता र क्षमताको पूर्णरुपमा प्रयोग गर्न चाहन्छ, उनले भने ।