तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित

काठमाडौं । तराई मधेशभेगमा शीतलहर सुरु भएको छ । जसका कारण जनजिवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ ।

अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको मानिन्छ । मंगलबार नै तराई मधेशका जिल्लामा शीतलहर चलेको हो । तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।


अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक–दुई दिन कायमै रहने भएको छ । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुनेछ । काठमाडौंमा आजको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो ।