काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै जनाएको छ ।
ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् ।
अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् । उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उता, अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।