हामीले पाएको मत निराशाको होइन, यो मतलाई न्याय गर्नेछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए ।

‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ।

कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।’

‘छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु,’ उनले भने।