विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ ।

विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

अन्य प्रान्तको तुलनामा दक्षिण एसियाका मुलुकहरुको अनुमानित आर्थिक वृद्धिदर केही सन्तोषजनक देखिएको छ । सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रृलंकामा गरिबीको संख्या बढ्दै जान सक्ने रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर राम्रो देखिएको छ । विश्व बैंकले पछिल्लो पटक सन् २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ तथा भारतको ६.९ प्रतिशत अनुमान गरेको छ ।

त्यस्तै नेपालको ५.१ प्रतिशत, बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ ।