काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।
उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेसँगै उनी थुनामुत्तध्m हुने भएका हुन् । नाबालिकामाथि बलात्कार गरेको आरोप उनीमाथि छ । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् ।
जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । भदौ २१ मा सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो ।