रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधी

काठमाडौं । रियल म्याड्रिडलाई हराउँदै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको उपाधि उचालेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो। किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए। रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका थिए।

खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले रोबर्ट लेवान्डोस्कीको पासबाट गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए। हाफ टाइमभन्दा ठीक अगाडि गाभिकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० ले अग्रता दिलाए। यस्तै दोस्रो हाफको ६९ औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै खेलमा बार्सिलोनाले ३–० को अग्रता बनायो। तर करिम बेन्जेमाले खेलको इन्जुरी समयमा गोल गर्दै अन्तर घटाए पनि हार जोगाउन सकेनन्। बार्सिलोनाले सन् २०१८ पछि पहिलो पटक सुपर कपको उपाधि उचाल्यो।