काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ ।
पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद्हरुका अनुसार बिहीबार केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत पनि सम्भावना छ ।