बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ

काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जानकारी दिए । उनका अनुसार त्यसरी खटेको टोलीले होटल सोनाबाट शङ्कास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको थियो ।

प्रक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९, म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ७३१ थान राहदानी र लोकजङ खड्कासहितका तीन जना विभागको नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार अनुसन्धान बाँकी रहेको छ । वैदेशिक रोजगार व्यवसायी वा तालिम प्रदायक संस्था हुन् वा स्वास्थ्य परीक्षण गर्ने संस्थान हुन् भन्ने बारे नखुलेको उनले जनाएका छन् ।