७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो । बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो । संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । पहिलो गणतन्त्र परेड सन् १९५५ मा राजपथमा आयोजना गरिएको थियो । यो कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि थिए ।