बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ ।
सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ ।
यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकको हो ।
उपभोक्ता समिति र स्थानीय बासिन्दा बीच सडक खन्ने विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछि डोजर चालकले स्थानीयलाई डोजरबाटै पेल्न खोजेको देखिन्छ । डोजर चालकले डोजरको टुडले हिर्काएपछि स्थानीय गौरी जोशी घाइते भएको बताइएको छ ।
घटना सार्वजनिक भएलगत्तै प्रहरीले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उक्त घटनामा केही मानिसहरु घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले बताएको छ । ती महिलाको अवस्था भने गम्भीर रहेको छ ।