काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउने भएकी छिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै अमेरिकाबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप–विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
उनी सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी थिइन् । अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमणको उद्देश्य भने स्पष्ट छैन । हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा उनी अमेरिकी विदेश मन्त्रालयको प्रवक्ता थिइन् ।
पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उनले काम गरेकी छिन् ।