पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

कराँची । पाकिस्तानको पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुगेकेछ । घटनामा अझै ५० जनाभन्दा बढी मानिस घाइते छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो करिब साढे १ बजे भरिभराउ मस्जिदमा विस्फोट गराइएको हो । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्।

उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रको यो मस्जिदमा आत्मघाती कसरी प्रवेश गरे स्पष्ट छैन। बम बिस्फोटपछि उक्त भवनको एक भाग ध्वस्त भएको समाचार छ । अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ। घाइते भएका कैयौंलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए।
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।


प्रहरी अधिकारी सिद्दिकी खानका अनुसार एक जनाले पूजा गर्नेहरूका बीचमा आफूलाई राखेर विस्फोट गराएका थिए। गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ। प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन्।