कराँती । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको छ । घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन्।
पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन्। सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए। जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए।
उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ। त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतंकवाद ब्यूरोहरू छन्। पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेका थिए।