परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको अवसरमा ‘लंकारेलंका’ कार्यक्रम राखेको छ, जसमा सहभागी हुन मन्त्री पौड्याल बिहीबार कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमण तालिकाअनुसार शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षी अलि साब्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन मन्त्री पौड्याललगायत विभिन्न देशका पाहुनाहरूका लागि स्वागत लञ्चको कार्यक्रम राखिएको छ । लञ्चपछि मन्त्री पौड्यालको उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री पौड्याल अन्य समकक्षीसँगै ‘लंकारेलंका’ कार्यक्रममा सहभागी हुनेछिन् ।

त्यसको अर्को दिन समारोहअन्तर्गत आयोजना हुने परेड र झण्डोत्तोलन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमपछि राष्ट्रपति रनिल बिक्रमासिंघेसँग मन्त्री पौड्यालको शिष्टाचार भेट हुनेछ । भेटपश्चात मन्त्री पौड्याल राष्ट्रपति भवनमा आयोजित हुने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणका क्रममा विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता हुनेछ ।