काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका छन् ।
“मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ। यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ।’’
भेटमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सके रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताएका छन् उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी गराउँदै उनले कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।