काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको आलोचना गरिरहेका थिए । आफू नेतृत्वको सरकार हटेर कांग्रेस नेतृत्वको सरकार बनेपछि अहिलेको सरकार बन्दासम्मको अवधिमा अर्थतन्त्रमा देखिएको नाकारात्मक सूचकलगायका बारेमा बताइरहेका थिए ।
सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । ओलीले बोल्दाबोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए ।
उनले सरकार गठन भएदेखि अहिलेसम्म प्रतिनिधिसभामा उक्त न्युनतम साझा कार्यक्रम नदेखाइएको उनको भनाइ थियो ।
खतिवडाले भने,‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’ खतिवडाले नियमापत्ति जनाएपछि ओलीले उनलाई जवाफ फर्काएका थिए । ओलीले भने,’उहाँहरूले यस्तो गरिरहनुहुन्छ सभामुख महोदय ।’