काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १–१ गोल गरे । लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो ।
बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् ।यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।