भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै

काठमाडौं । रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरेका थिए । मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन् ।

नयाँ पुस्ताको नेतृत्व लिने समय आएको भन्दै उनले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा आफ्नो प्राथमिकता हुने उनले बताइन् । हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो । हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुन् । उनको जन्म साउथ क्यारोलिनमा भएको हो र उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी हुन् ।

हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गरेकी छिन् । सन् २००४ देखि राजनीतिमा पाइला टेक्नुभएकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र संघको राजदूत पद सम्हालेकी छिन् । सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उनले अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बनेकी थिइन् । नागरिक अधिकारका लागि संघर्षरत हेलीसँग विभिन्न वाणिज्य संघहरुमा रहेर काम गरेको लामो अनुभव छ ।