पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक

काठमाडौं । जहाज दुर्घटना जाँच आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १२ बाट जहाज अवतरणमा रोक लगाएको छ । आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटना यसै दिशामा भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रनवे १२ मा अवतरणको अनुमति दिनु अगाडी पर्याप्त अध्ययन गर्न समेत भनेको छ ।

उता, दुर्घटनाको अन्तिम केही सेकेण्डमा जहाजमा पाइलटको कमाण्ड समेत परिवर्तन भएको पाइएको छ । दुर्घटना जाँच आयोगका अनुसार दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए । जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ ।

त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उल्लेख गरेको छ । अवतरणका दौरान गराउने क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेको समेत पाइएको छ । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् ।

जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो ।

त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो । यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ ।