काठमाडौं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो। हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन्।
उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्। पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको छ । जनकपुरमा आयोजित कार्यक्रममा उनले नेपाल हिन्दू राष्ट्र भएको बताएका थिए । शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ। शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घले जनाएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती विश्वका विभिन्न देशहरूलाई हिन्दू राष्ट्र बनाउनु पर्ने पक्षमा मत राख्ने गर्छन्।
तीन वर्षअघि उनले संयुक्त राष्ट्र सङ्घले भारत, नेपाल र भुटानलाई हिन्दू राष्ट्रको मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। अङ्ग्रेजी अनलाइन पिपल्स रिभ्यूका अनुसार गत वर्ष जनकपुरमा आयोजित एउटा कार्यक्रममा त उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न कुनै नेता आवश्यक नपर्ने बताउँदै भनेका थिए, “म घोषणा गर्छु( नेपाल हिन्दू राष्ट्र हो।” भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्ममा भारत हिन्दू राष्ट्र बन्ने घोषणा पनि गरेका छन्। उनले नेपाल र भारतबीच रहेको सीमा विवादबारे पनि आफ्नो धारणा सार्वजनिक रूपमा प्रकट गर्ने गरेका छन्।