काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ । ट्राफिकले अलाइनमै सेवा दिनेलाई कारवाही गरेको हो वा अफलाइन राइड दिनेमाथि कारवाही गरेको हो भन्ने खुलेको छैन ।
उपत्यकाको विभिन्न स्थानबाट २० जना मोटरसाइकलका चालकलाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । यात्रु चढाउन नमान्ने १० जना ट्याक्सी चालकलाई पनि बिहीबार नै कारबाही गरेको छ । सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ५ सय देखि १५ सयसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए ।