नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला छिटो सामान्य हुने अपेक्षा समेत गरेका छन् ।
प्रवक्ताका अनुसार विभागले केही कर्मचारीसँग लामो बयान लिएको छ । त्यस क्रममा उनीहरु कार्यालयमै थुनिएका थिए । बीबीसीले आफ्नो कामकाज सामान्य बनेको जनाएको छ । उसले निष्पक्ष समाचारमा अडिग रहेको समेत जनाएको छ । सत्ताधारी भारतीय जनता पार्टीले यस मामलालाई कानूनी रुपमा हेर्नु पर्ने बताएको छ ।
तर, कतिपय विपक्षी दलले भने मोदी सरकारप्रति सवाल उठाएका छन् । बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ को गुजरात हिंसाबारे एक डकुमेन्ट्री बनाएको थियो । यसपछि भारत सरकार भड्किएको छ । यसलाई अहिले भारतमा प्रसारण बन्द गरिएको छ । सबै सामाजिक सञ्जालबाट समेत डकुमेन्ट्री हटाइएको छ ।