काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । ग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७।३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।
यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् । २७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे । आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।
त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे । नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो । रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।