साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन् । प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।


कार्कीका परिवारजनसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।