काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सिसीटीभी जडानको संख्या बढाउने भएको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकले महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।
महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ । काठमाडौंको मुल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गर्ने तयारी छ । चोक तथा गल्लीहरुमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।