सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो

काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा सामान्य वर्षा भएको छ । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि उच्च पहाडी र हिमाली जिल्लामा पनि खासै हिमपात हुन सकेन ।

हिउँदयाम सकिएसँगै प्रि मनसुन सुरु भएको छ । मौसमविद् मन्जु बासीका अनुसार मार्च १ तारिख अर्थात् आजदेखि हिउँदयाम सकिएर प्रि–मनसुन सुरु भएको मानिन्छ । आजदेखि सुरु हुने प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहने छ । त्यसपछि मनसुन सुरु हुन्छ । प्रि मनसुनमा दिउँसो पनि मेघगर्जन–चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।