काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ ।
दुई महिनाको अवधिमा कुल पर्यटक आगमन १ लाख २८ हजार ३२९ जना रहेको छ । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् । सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो । तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए ।
सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन् । थाइल्याण्डबाट फेब्रुअरीमा ४ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ४ हजार ३४५ जना आएका छन् ।
दक्षिण कोरियाबाट एक महिनाको अवधिमा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । यस महिनामा अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन् ।