काठमाडौं । लागुऔषध प्रयोग गरी गाडी चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत राति नागढुंगामा गरेको विशेष जाँचका क्रममा ११ जनाले लागुऔषध प्रयोग गरी गाडी चलाएको पाइएको हो । राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरिएको लागुऔषध प्रयोग गरेका ११ जनालाई नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनीहरूलाई हिरासतमा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने छ । होलीको दिन पनि लागुपदार्थ र जाँडरक्सी सेवन गरे नगरेको जाँच हुनेछ । ट्राफिक प्रहरीले गएको साउन नौ गतेदेखि चालकहरुले लागुऔषध प्रयोग गरी गाडी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टि.एच.सी. किटको प्रयोग गरी जाँच गर्न थालेको छ । जाँड रक्सी खाएर गाडी चलाउने चालकलाई जरिबाना र सचेतना कक्षामा सहभागी गराउने र लागुऔषध प्रयोग गर्नेलाई पक्राउ गरी मुद्दा चलाइने भएको छ ।