सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने

Dna India

काठमाडौं । सोमबार र मंगलबार मनाइने फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ ।

यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्छ । होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ ।

मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरीले जनाएको छ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो ।