रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सले लगातार पाँचौ दिन सोही लय कायम राखेको हो ।

गत साता झन्डै ६० अंकले घटेको नेप्से आज एकैदिन ३० अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज सवा अर्बको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ५ करोड र एशियन लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, आदर्श लघुवित्त ७.५४, खप्तड लघुवित्त ७.४२, उन्नति सहकार्य लघुवित्त ६.९६, ग्लोबल आइएमई लघुवित्तको सेयर ६.१७ प्रतिशतले घटेको छ ।