सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३ः३५ मा उडान भर्ने उक्त जहाज चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातिको ९ बजे अवतरण गर्नेछ ।

अस्ट्रेलिया र जापान भ्रमणका लागि छेङ्दु ट्रान्जिट भएर जाने यात्रुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँदेखि मेलबर्नसम्मको एकतर्फी भाडा ७९ हजार ९९९ रुपियाँ र काठमाडौँदेखि नारितासम्मको एकतर्फी भाडा ६५ हजार ९९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेकइन लगेज र सात केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाई सेवाको सुरुवातसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुले छेङ्दुमा साढे चार घण्टाको ट्रान्जिट पर्खिनुपर्नेछ । नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टका रूपमा काम गर्दै आएको छ ।