काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपति जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।
पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।
निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ । २८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय हुन बताइएको छ ।
संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्याइने छ ।