श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने

काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ । कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो । त्यसपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणबाट पुनः उडानको अनुमति पाएसँगै शनिबारदेखि श्री एयरलाइन्सले नियमित उडान गर्ने कम्पनीले बताएको छ ।

श्री एयरलाइन्सका जहाज उडानका लागि पूर्ण सुरक्षित रहेको समेत कम्पनीले जनाएको छ । यसअघि उडान नं ८२१ बाट काठमाडौं–भैरहवा उडानमा रहेको श्रीको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि सो इन्जिन बन्द गरी एक इन्जिनको सहायतामा जहाज काठमाडौंमा आकस्मिक अवतरण गराइएको थियो । त्यसपछि छानविन पुरा नभएसम्म प्राधिकरणले श्रीको सबै जहाजहरु ग्राउण्डेड गरेको थियो । प्राधिकरणको यो जाँचबाट आफ्ना सबै जहाज सुरक्षित भएको पुष्टि हुने समेत कम्पनीले उल्लेख गरेको छ ।