काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ।”
प्रधानमन्त्री प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणासमेत गरेका छन् । नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययनरअनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नेवार समुदायका लागि खोलिने सो प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने स्पष्ट पारे । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराए ।