नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न थालेको हो। विभिन्न नाकाबाट आवत जावत हुँदा संक्रमितको संख्या बढेको सह–प्रवक्ता अधिकारीको भनाइ छ। सोमबार १२ सय ६६ जनामा परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ। आइतबार १६, शनिबार तीन, शुक्रबार दुई, हिबीबार १७ जनामा कोरोना पुष्टि भएको थियो।

गत बुधबार १३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा संक्रमणदर शून्य थियो। आफू र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानी हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुउँ गर्दा रुमाल प्रयोग गर्न सह–प्रवक्ता अधिकारीले सुझाव दिएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाउन समेत सरकारले आग्रह गरेको छ ।