काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानले नेपाललाई बराबरीमा रोकेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।
नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारे । खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।
भुटानसँग १–१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसहित २–० ले हारेको लाओसले भुटानलाई हराएको थियो । नेपालसँग बराबरी खेलेपनि भुटान घर फर्किएको छ । खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेका थिए ।