मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु ठाउँमा जान्छ ।

अहिले भइरहेको पाइपबाट पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले उल्लेख गरेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । एक हजार आठ सय र एक हजार छ सय मिलिमिटरको जीआई पाइप बिछ्याउन लागिएको हो ।

पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने बताइएको छ ।