विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने

काठमाडौं । दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । यसअघि श्रीलंका समेत क्वालिफायर खेल्नु पर्ने गरी घटुवा भएको थियो । अब आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक ठूलो टीम क्वालिफायर खेल्न आउनु पर्नेछ ।

आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिज र श्रीलंका सिधै विश्वकप खेल्नबाट वञ्चित भएका हुन् । दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो ।

सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।
२०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो । सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ । आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ । अब बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक टोलीको टुङ्गो लाग्नेछ ।

सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । त्यसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ । जसमा चार टेष्ट राष्ट्र हुने पक्का छ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ ।

लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका छन् । नामिबियामा जारी क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ । लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।