काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले लेखेको छ । सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो ।
तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय छन् । रुसको गृह मन्त्रालयले उनको ज्यान गएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन हो । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए । युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए । गत वर्ष उनले बनाएको एक भिडियोले निकै चर्चा बटुलेको थियो ।
भिडियोमा उनले आफूहरुले जो सुकैलाई हराउने दाबी गरेका थिए । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विस्फोटक पदार्थ राखिएकोले विस्फोट भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विस्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।