ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…

काठमाडौं । ट्विटरले ुद न्यू योर्क टाइम्सुको खाताबाट भेरिफिकेसन चेक मार्क (ब्लू टिक) हटाइदिएपछि बहस सुरु भएको छ । ट्विटरले विश्व प्रख्यात अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्यू योर्क टाइम्सको ट्विटर खाताबाट ब्लू टिक हटाइदिएको हो। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कलाई यो पत्रिका मन नपर्ने विभिन्न सञ्चार माध्यमले लेखेका छन् । न्यू योर्क टाइम्सले भेरिफिकेसन चेक मार्कको लागि शुल्क नतिर्ने बताएसँगै मस्कले ब्लू टिक मार्क हटाइदिएको उनीहरूको अनुमान छ ।
ट्विटरले सन् २०२३ को अप्रिल १ देखि व्यक्तिगत प्रयोगकर्ताहरूले ब्लू टिकको लागि मासिक ८ अमेरिकी डलर र संस्थाहरूले संस्थागत खातामा ब्लू टिकको लागि मासिक एक हजार डलर तिर्नुपर्ने नियमको घोषणा गरेको थियो। गत बिहीबार मात्रै न्यू योर्क टाइमक्सले शुल्क नबुझाउने बताएको थियो। आइतबार, अप्रिल १ तारिखमा मस्कले आफ्नो ट्विटर खाताबाटै न्यू योर्क टाइम्सको ब्लू टिक हटाइएको जानकारी गराउँदै ट्विट गरेका छन् ।

उक्त पत्रिकाको मुख्य ट्विटर खातामा भएको ब्लू टिक हटाइएको भएपनि यसको अन्य खाता जस्तै बिजनेस न्युज र ‌ओपिनियन पेज खाताहरूमा भने ब्लू टिक यथावत छ। टाइम्सको मुख्य खातामा मात्रै ५ करोड ५० लाख फलोअर्स रहेको छ। उक्त खाताबाट ब्लु टिक हटेकोप्रति थुप्रै प्रयोगकर्ताहरूले चासो देखाएका छन्। ट्विटरले शुल्क नतिर्ने प्रयोगकर्ताहरूको ब्लु टिक क्रमशः हट्दै जाने बताएको छ।