काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले बनाउने भएको छ । यस संरचनाको स्वामित्व लिएर सरकारले नै निर्माण गर्ने निर्णय सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।
यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रहिआएको छ । मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ । रंगशाला निर्माणको काम युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाइने भएको छ । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गरिने भएको छ । यो रंगशाला नेपालकै ठूलो र सुविधा सम्पन्न क्रिकेट रंगशाला हुने छ ।