उत्पादन कटौतीपछि ह्वात्तै बढ्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । मूल्यमा लगातार गिरावट आएपछि तेल निर्यात गर्ने देशहरूको संगठन (ओपेक)ले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको भाउ ह्वात्तै बढेको हो ।

आइतबार ओपेक देशका मन्त्रीहरूको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति गरेका थिए । सो निर्णय लगत्तै विश्व बजारमा कच्चा तेलको भाउ १० प्रतिशतसम्म बढेको छ ।

शनिबार प्रतिब्यारेल ७९ डलर रहेको विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ९ प्रतिशतले बढेर आज ८६ डलर पुगेको छ । त्यस्तै, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ४ दिनमै ९.५ प्रतिशत अर्थात् ७ डलरले बढेर प्रतिब्यारेल ८२ डलर पुगेको छ ।

मुर्बान क्रुड आयलको भाउ १० प्रतिशतले बढेको छ भने अन्य अधिकांश बेन्चमार्कहरुको भाउ ५ देखि १० प्रतिशतसम्म बढेको छ ।

सन् २०२२ को जुन यता लगातार ओरालो लागेको कच्चा तेलको भाउ गत मार्चमा डेढ वर्ष यताकै सस्तो प्रतिब्यारेल ७१ डलरसम्म आएको थियो । विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण लगातार घट्न थालेको तेलको भाउ विश्व बैंकिङ क्षेत्रमा देखिएको संकटका कारण झनै घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातर गिरावट आएपछि उत्पादन कटौती गर्दै मूल्यमा स्थिरता ल्याउने ओपकले जनाएको छ ।