काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो।
महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।
उनलाई आरोप लगाउने कर्मचारी रोशनी शाहीले पहिलो बयानपछि पटक पटक बयान फेर्दै उनी निर्दोष रहेको बताएपनि प्रहरीले अनुसन्धान रोकेको थिएन ।
मुद्दा दर्ता भएपछि उनलाई बिहीबार हिरासतमै फर्काइएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । अब शुक्रबारबाट थुनछेक बयान र बहस शुरु हुनेछ ।
धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने निर्णय अदालतले नै फैसला गर्छ । प्रहरीले महरामाथि अनुसन्धानपछि कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।
२० दिनभन्दा लामो अनुसन्धानले महराबाट संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी उद्योग गरेको पुष्टि हुने निष्कर्षमा प्रहरी पुगेको हो ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने प्रक्रिया रहेको छ । महरामाथि लागेको आरोप पुष्टी भए उनीमाथि अदालतबाट सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने सक्ने व्यवस्था रहेको छ।
प्रहरीले रोशनीको कोठाबाट बरामद गरेको चस्मा र जुत्ताको तलुवा, उनले दिएको भिडियो बयानलगायतका आधारमा महरालाई दोषि सवित गरेको छ ।