काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ । सिक्किमको स्थानीय अनलाइन समाचार पोर्टल भ्वाइस अफ सिक्किमका अनुसार भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो ।
हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वडा सवारीसाधन पुरिएको आशंका छ । मंगलबार साँझ ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमपहिरोमा पर्नेको खोजी तथा उद्दार कार्य जारी भएको बताउँदै प्रभावितलाई हरसम्भव सहायता प्रदान गर्ने बताएका छन् । गृहमन्त्री अमित शाह सिक्किमको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।