बालेन र हर्कको भेट, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङबीच शिष्टाचार भेटघाट भएको छ । दुई मेयरको पहिलो पटक भेटघाट भएको बालेन्द्रको सचिवालयले जनाएको छ । काठमाडौं आएका सम्पाङले मंगलबार दिउँसो साढे २ बजे बालेन्द्रसँग भेटघाट गरेका हुन् । दुबै मेयरबीचको पहिलो भेटघाटमा अनुभव आदनप्रदान तथा आ-आफ्नो स्थानमा के कसरी काम गर्ने भन्ने कुरामा छलफल भएको बालेन्द्रका स्वकीय सचिव भुपदेव शाहले जानकारी गराएका छन् ।

भेटमा बालेन्द्रले स्थायी सरकार नहुँदा समस्या भएको बताएका थिए । साथै मन्त्री भेट्न सिंहदरबार जाँदा ती मन्त्रीको पद नै चट भएको प्रसंग निकालेका थिए । बालेन्द्रले स्थानीय सरकार ५ वर्षसम्म स्थायित्व हुने भए पनि केन्द्र सरकार फेरबदल हुँदा काम गर्न समस्या भएको कुरा हर्कलाई सुनाएका थिए ।

भेटमा धरानका मेयर सम्पाङले बालेन्द्रलाई शुभ संकेतको रूपमा लिइने सिलाम साक्मा लगाइदिएका थिए । लिम्बु समुदायको सांस्कृतिक बिम्ब रूपमा लिइने सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिने गर्छन् । यसको प्रयोग विभिन्न पर्वमा प्रयोग हुने गर्छ ।